1 min read

बाथरोगमा के गर्ने ?

सामान्यतया हाड–जोर्नी दुख्ने, जीउ दुख्ने, अररो हुने, कक्रक्क पर्ने, सुन्निनेजस्ता लक्षण भएमा बाथरोग भयो भन्ने गरिन्छ । बाथरोग विशेषतः हाड–जोर्नीमा लाग्ने रोग हो । तर यो समस्याको शुरुवात र असर हाड–जोर्नीलगायत रगत, मांसपेशी, नसाहरु, कुनै अंग वा प्रणालीमा समेत हुने हुन्छ । साथै जुनसुकै उमेरका व्यक्तिलाई हुने गर्दछ ।

बाथरोग सयभन्दा बढी प्रकारको हुन्छ । जोर्नी खिइएर (अस्टियो अथ्राइटिस), मूत्राम्ल वृद्धि (गाउट), ¥युमेट्वायड अथ्राइटिस (आमबाथ, गठियाबाथ), लुपस आदि अनेक थरीका बाथरोग हुन्छन् । यस्ता बाथरोगहरुमध्ये कुनैले शरीरको निश्चित भागमा असर गर्छन् भने कतिपयले सम्पूर्ण शरीरमा नै क्षति पुर्‍याउँछन् । त्यसकारण यसको उपचार समयमै नगरेमा अनेक समस्या आइपर्न सक्छन् ।

कतिपय बाथरोगले मिर्गौला, आँखा, मुटु, फोक्सो, मेरुदण्ड, छाला, मांसपेशी, रगतलगायत अन्य महत्वपूर्ण अंगहरु बिगारेर अनेक जटिल खालका समस्याहरु निम्त्याउने र ज्यान नै जोखिममा पार्न सक्ने पनि हुन्छ । त्यसैले सचेत हुनु जरुरी छ । र्‍युमेट्विायड अथ्र्राइटिस, लुपस, मेरुदण्डको बाथ (स्पोन्डायलो अथ्र्राइटिस) जस्तै: एन्कोलाइजिङ स्पोन्डिलाइटिस, दीर्घ चर्मरोग सोरायसिसका कारणले जोर्नी तथा मांसपेशीमा दुखाइ हुने सोरियाटिक अथ्र्राइटिस, विभिन्न संक्रमणका कारणले हुने रिएक्टिभ अथ्र्राइटिसलगायतका बाथरोगहरु पनि कडा खालका बाथरोगहरु हुन्, जसले अनेक गम्भीर समस्या उत्पन्न गर्न सक्छन् ।

बाथरोगका कारणहरु

बाथरोगको प्रकार अनुसार यसका कारणहरु पनि फरक हुन सक्छन् । हाड–जोर्नी, नसा, छाला, मांसपेशी, रगतमा हुने समस्याहरुका कारणले बाथरोग हुन सक्छ । रगतमा हुने खराबी वा रक्ततत्वहरुको असन्तुलनको कारण पनि बाथरोग हुन्छ । यसरी नै हाड खिइनु, खानपान तथा जीवनशैलीको गडबडी हुनु, चोटपटकबाट असर पर्नु, वंशाणुगत असर पर्नु पनि बाथरोगका कारणहरु हुन सक्छन् ।

बढ्दो उमेर वा बुढ्यौली, काम वा पेसा, स्थान, वातावरण आदिका कारणले समेत अनेक प्रकारका बाथरोगहरु हुन सक्छन् । कुनै कारणवश शरीरको स्वप्रतिरक्षा प्रणाली (अटोइम्युन सिस्टम) मा गडबडी भई शरीरका कोषिकाहरुले यस प्रणालीलाई नै क्षति पुग्ने गरी कार्य गर्छन्, जसलाई अटो इम्युन डिस्अर्डर (स्वप्रतिरक्षा गडबडी) नाम दिइएको छ । यस्ता अटो इम्युन डिस्अर्डरहरुमध्ये आमबाथ जस्तै: र्‍युमेट्वायड अथ्र्राइटिस, लुपस आदि अलि कडा खालका समस्याहरु हुन् । प्राकृतिक चिकित्साको दृष्टिमा शरीरमा विजातीय तत्वको व्यापकता, जीवनीशक्तिको कमी तथा प्रतिरोधक क्षमतामा आएको गडबडीस्वरुप यो समस्या आउँछ ।

लक्षण र असर

बाथरोगको प्रकार, गम्भीरताको अवस्था र प्रभावित स्थान अनुरुपका लक्षणहरु देखा पर्दछन् । जोर्नीहरु दुख्ने, सुन्निने, रातो हुने, हल्का तात्तिने हुन्छ । यसरी नै एक वा अनेक भागहरु अररो तथा जाम भएजस्तो हुने, जोर्नीहरु चलाउन कठिनाइ हुने, जोर्नी र वरपरको भागको छालामा परिवर्तन, हाड–जोर्नीमा गडबडी (बांगोटिंगो हुने, जाम हुने, सुन्निने, मक्किने आदि), गल्ने–थाक्ने–भारीपन हुने, कमजोरी बढ्ने आदि हुन्छ ।

कतिपय बाथरोगमा जोर्नी मात्र नभएर अनुहार तथा अरु भागसमेत सुन्निने, ज्वरो आउने, रगतको नली सुन्निने, दुख्ने, छालामा कत्ला–पाप्रा आउने, रातो हुने, घाउ हुने, आन्द्रा सुन्निने, यौनांगमा घाउ हुनेजस्ता लक्षणहरु पनि प्रकट हुन्छन् । यसरी नै पिसाबको खराबी हुने, भित्रभित्रै दुख्ने–पोल्ने, झम्झमाउनेजस्ता लक्षणहरु देखिने हुन्छ । समस्याको गम्भीरता अनुरुप सानादेखि अन्य जटिल लक्षणहरु पनि आउन सक्छन् । यस्ता लक्षणहरु कुनै खाना खाँदा, मौसम परिवर्तन हुँदा, नुहाउँदा, चिसो र रातको समयमा प्रायः बढ्ने हुन्छ । नसा च्यापिने, जाम भएर जोर्नी अचल बन्ने पनि हुन सक्छ ।

बाथरोगको निदान

चिकित्सकले जाँचेर दुखाइको प्रकृति, सुन्निएको अवस्था, दुखेको अवधि वा सुन्निएको जोर्नी आदिका आधारमा पनि कतिपय प्रकारको बाथरोगको पहिचान हुन्छ । यसरी नै एक्स–रे, एम.आर.आई., रगत, पिसाब, जोर्नीको तरल आदिको प्रयोगशाला परीक्षणबाट बाथरोगको
निदान गर्न सकिन्छ ।

बाथरोगमा प्राकृतिक चिकित्सा

योग तथा प्राकृतिक चिकित्सकको सल्लाहमा बाथरोगको कारण, प्रकार, अवस्था र गम्भीरता अनुरुप उपचार लिनु बढी प्रभावकारी हुन्छ ।

तातो पानीमा प्रभावित भागलाई डुवाउने

बाथरोगको उपचारमा प्राकृतिक चिकित्सा र यसका सहयोगी उपचार विधिहरुको प्रयोग गर्न सकिन्छ ।

योग चिकित्सा: योग चिकित्सा प्रायः सबै प्रकारका बाथरोगमा गर्न सकिन्छ । तर गर्नुपूर्व योग चिकित्सकसँग कुन अवस्थामा, कुन अभ्यास कतिपटक गर्ने, कसरी र कति अवधिसम्म गर्ने आदिबारे प्रस्ट निर्देशन प्राप्त गर्नुपर्दछ । योग चिकित्सामा स्थानीय उपचारका रुपमा स्थानीय जोर्नीहरुको गतिशीलता, रक्तसञ्चार वृद्धि आदि कुराहरुमा ध्यान दिइन्छ, जसका लागि यौगिक सूक्ष्म व्यायामहरु वा सो अंगमा प्रभाव पार्ने खालका आसनहरु अभ्यास गराइन्छ ।

यसरी नै पूर्ण शरीरकै उपचार र रक्तशुद्धिका लागि अनेक यौगिक उपचारहरु प्रयोग गरिन्छ । पूरा शरीरको उपचार र दीर्घकालीन लाभका लागि षटकर्म, आसन, बन्ध, मुद्रा, प्राणायाम आदिले यो रोग निको पार्न, जोखिम घटाउन र सहज बनाउन ठूलो मद्दत गर्छ । पञ्चकोषीय शोधनको अवधारणा अनुरुप बाथरोगको उपचार गर्नुपर्दछ ।
क) सूक्ष्म व्यायामहरु: बाथरोगको अवस्था अनुरुपका यौगिक सूक्ष्म व्यायामहरुको अभ्यास गर्नुपर्दछ । सामान्य समस्याहरुमा यहाँ दिइएका सूक्ष्म व्यायामहरु प्रत्येकलाई ५–१० पटकसम्म अभ्यास गर्नुहोस् । तातो पानीमा हातखुट्टाका पञ्जा वा औंलाहरु, हत्केला–पैतालाहरु डुबाउँदै अभ्यास गर्दा फाइदा हुन्छ । बाल्टी, बाटा वा बाथ टब वा तातो पानीको कुण्ड आदिको प्रयोगका साथमा स्नान गर्दै, अंगप्रत्यंगलाई डुबाउँदै वा घाममा कम कपडा लगाएर जीउ तताउँदै गरिएको सूक्ष्म व्यायाम बाथरोगमा बढी प्रभावकारी हुन्छ ।
हातका सूक्ष्म व्यायामहरु:विधिः (१) दुवै हात सोझो समानान्तर राखी हातका औंला खुम्च्याउने र बलपूर्वक मुठ्ठी कस्ने, ५ सेकेन्डजति रोकेपछि तन्काएर अररो पार्दै फैलाउने र ५ सेकेन्डजति रोक्ने । यसरी नै दोहो¥याउने । (२) औंलाहरु तन्काएर ५ सेकेन्डसम्म कडा पार्ने र शीथिल बनाउने साथै आधा खुम्च्याएर त्यत्तिकै समयसम्म कडा तथा खुकुलो गर्ने । (३) नाडीको जोर्नीलाई मुठ्ठी बन्द गरेर वा खोलेर उल्टो–सुल्टो घुमाउने । (४) कुहिनाबाट हात खुम्च्याउनुस्–फैलाउनुस् । यस व्यायामलाई छातीको अगाडि, दायाँ–बायाँ र टाउकोतिर कानसँगै सोझो राखी अभ्यास गर्नुस् । (५) दुवै हातलाई दायाँ–बायाँ सोझो राखी काँधको जोर्नीबाट चारैतिर उल्टो–सुल्टो घुमाउनुस् । (६) दुवै हातलाई खुम्च्याएर, टाउकाको पछाडितिर लगेर, दायाँ हातले बायाँ हातको नाडीमा समातेर दायाँतिर तान्नुस् र एकैछिन् रोक्नुस् । अब देब्रे हातले दायाँ हातको नाडीमा समातेर देब्रेतिरै तान्नुहोस् । सावधानीः जोर्नीहरुमा शोथ (सुन्निने, रातो–तातो भएको अवस्था) र तीव्र दुखाइमा गतिशील व्यायामहरु गर्नुहुँदैन ।
खुट्टाका सूक्ष्म व्यायामहरु:विधिः (१) खुट्टाको पैताला–पञ्जालाई अघि–पछि तन्काउने (२) औंलाहरु खुम्च्याउने–फैलाउने । औंला दुखेमा अलि–अलि मात्र चलाउनुस् । (३) गोलिगाँठोसँगैको जोर्नीबाट उल्टो–सुल्टो घुमाउने गर्नुहोस् । (४) दुवै खट्टालाई पालैसँग र पछि दुवैलाई जोडेर एकसाथ खुम्च्याउने र फैलाउने गर्नुस् । (५) खुट्टा खुम्च्याएर, पञ्जामा हातले समातेर तिघ्रा–घुँडाको भागलाई पुतली उडेजस्तै गरी हल्लाउनुस् । सावधानीः खुट्टाको जोर्नीमा शोथ (रातो, तातो भई सुन्निएको अवस्था) र तीव्र दुखाइमा गतिशील व्यायामहरु गर्नुहुँदैन ।
गर्दन र टाउकोका सूक्ष्म व्यायामहरु: विधिः (१) टाउको तल–माथि मोड्ने । (२) दायाँ–बायाँ गर्ने । (३) टाउकोलाई दायाँ–बायाँ ढल्काई कानले काँध छुने । (४) टाउकोलाई चौतर्फी बिस्तारै उल्टो–सुल्टो घुमाउने गर्नुहोस् । सावधानीः गर्दनको हाड बढी खिइएका, हाड–जोर्नी यथास्थानबाट बढी सरेका वा नसा बढी थिचिएका व्यक्तिहरुलाई यसले बेफाइदा गर्न सक्छ, गर्नै परे केही दिन विशेषज्ञको उपस्थितिमा मात्र गर्नुहोस् । रिँगटा लाग्नेहरुले यी व्यायामहरु गर्नुहुँदैन ।
काँधका सूक्ष्म व्यायामहरु: विधिः (१) काँधको भागलाई तल–माथि उचाल्ने–छाड्ने गर्नुस् । (२) दुवै हात खुम्च्याएर काँधको जोर्नीमा राखी काँधको भाग उल्टो–सुल्टो घुमाउने गर्नुहोस् । सावधानीः शुरुमा अभ्यास गर्दा ढिलोसँग गर्नुपर्छ ।
ख) बाथरोगका लागि आसनहरु: बाथरोगको अवस्था र समस्या अनुरुप योगासनको चयन गरिन्छ । त्यसैले कडा खालका बाथरोगहरुमा योग चिकित्सकको सल्लाह लिएर मात्र आसनको अभ्यास गर्नुपर्छ । शुरुमा सरल खालका आसनहरु जस्तैः मेरुदण्डासन, एकपाद–दुईपाद उत्तानपादासन, हस्तउत्तानासन, अर्ध–नौकासन, पादसञ्चालनासन, एकपाद–दुईपाद सलभासन, भुजंगासन, नाभ्यासन, ताडासन, कटिचक्रासन, गोमुखासन, मार्जरी आसन आदिमध्येबाट अभ्यास गर्न सकिन्छ । रोगमा सुधार आएपछि र सजिलो हुँदै गएपछि धनुरासन, उष्ट्रासन, शशंकासन, पवनमुक्तासन लगायत अन्य आसनहरुको पनि अभ्यास गर्न मिल्छ ।
ग) षटकर्म र प्राणायाम: रक्तविकार हटाई रक्तशुद्धि गर्न (वा रगतका खराब वा असन्तुलित तत्वहरुलाई सामान्य र सन्तुलनमा राख्न) योगमा षटकर्मले धेरै नै मद्दत पु¥याउँछ । यसका लागि नेति, धौति, वस्ति, नौलि, त्राटक र कपालभाँतिजस्ता विधिहरुले शरीरलाई शोधन गर्न मद्दत गर्दछ । यसरी नै लघु तथा पूर्ण शंखप्रक्षालनको प्रयोग पनि लाभदायक हुन्छ । पूर्ण शरीरको उपचारका लागि प्राणायाम पनि निकै उपयोगी छ । भस्त्रिका, अनुलोमविलोम, नाडिशोधनजस्ता प्राणायामहरुको अभ्यास गर्न सकिन्छ ।
प्राकृतिक चिकित्सा विधि अन्तर्गत बाथरोगको उपचारका लागि अन्य विविध विधिहरु पनि प्रयोग गर्न सकिन्छ, जस्तो:

आहार चिकित्सा: बाथरोगको उपचारको लागि फलाहार, रसाहार, प्राकृतिक तथा क्षारीय भोजनको प्रयोग, अमृताहारको उचित मात्रामा प्रयोग गर्न सकिन्छ । समस्या के कारणले भएको हो, सोको आधारमा आवश्यक खानपानको चयन गरिन्छ । रसिलो फलफूल, सागपात, मौसमी हरियो ताजा तरकारी, सलाद आदिलाई प्राथमिकता दिनुपर्छ । जीउ सुन्निएको छैन भने दैनिक ४–५ लिटरसम्म पानी पिउने गर्नुपर्छ ।

तातो पानीमा प्रभावित भागलाई डुवाउने

जल चिकित्सा: बाथमा दुखाइको अवस्थालाई नियन्त्रण गर्नको लागि प्राकृतिक चिकित्सामा तातो पानीले सेक्ने, तातो पानीमा प्रभावित भागलाई डुबाउने, शरीरको वाष्पस्नानजस्ता विधिहरु प्रयोग गर्न सकिन्छ । यसरी नै तातो र चिसोको पालैपालो सेकाइ, स्नान प्रभावकारी हुन्छ । कहिलेकाहीँ अत्यधिक सुन्निएको अवस्थामा केही सेकेन्डको बरफको सेकाइपश्चात् तुरुन्तै तातो सकाइ गर्दा पनि लाभ हुन्छ ।
माटो चिकित्सा: दुखेको भागमा तातो माटोको पट्टी, सुन्निएको अवस्थामा चिसो माटोको पट्टी, दुख्ने, सुन्निने अवस्थामा तातो–चिसो पालैसँग माटोको पट्टी, बाथले दुखाइ भएको स्थानमा गिलो माटोको लेपन, सर्वांग माटोको लेपन गरी घाममा बसेर सुकाउने र आधा–एक घण्टापछि मनतातो पानीले पखाल्ने गर्नुपर्छ । माटो शुद्ध र सफा हुनुपर्छ ।

सूर्यस्नान तथा ताप चिकित्सा: बाथरोगमा सूर्यस्नान निकै उपयोगी छ । गर्मीमा चिसो र जाडोमा तातो पानी पिएर टाउकोमा चिसो पट्टी राखी चिसै पट्टीले आँखासमेत छोपेर नांगो छालामा घाम पर्ने गरी घाम ताप्नु नै सूर्य स्नान हो । उत्तानो, घोप्टो, कोल्टो सुतेर वा बसेर नीम, केरा वा तीतेपातीको सफा पातले छालालाई ढाकेर पनि सूर्य स्नान गर्दा बढी फाइदा पाउन सकिन्छ । यसरी नै माटोको लेपन गरी मडबाथ र सनबाथ एकैसाथ लिन पनि सकिन्छ । दुखाइको भागलाई हटवाटर ब्याग, ढुंगा वा बालुवा तताएर, पात (नीम, तीतेपाती, बकाइनो, अम्बा आदि) लाई कपडामा पोको पारी बाफ, पानी वा तेलमा हल्का ठिक्कको तातो बनाई बिरामीलाई नपोल्ने गरी पीडायुक्त भागमा सेकाउन सकिन्छ ।

उपवास चिकित्सा: पानी वा पानीमा कागती हालेर वा पानीमा कागती र महसमेत मिसाएर पिउँदै पूरा दिन कटाउने विधि उपवास हो । यो बाथरोगमा समेत उपवास निकै उपयोगी हुन्छ । यस्तो जलोपवास एकदेखि तीन दिन वा अवस्था हेरी प्राकृतिक चिकित्सकको निगरानीमा धेरै दिनसम्मको पनि अपनाउन सकिन्छ । तर बाथरोगको अवस्थामा कमजोर तथा रगतमा हेमोग्लोबिन कम भएको अवस्थामा यस्तो उपवास गर्नुहुँदैन ।

प्राकृतिक चिकित्सामा यी बाहेक अन्य अनेक विधिहरु जस्तै– चुम्बक चिकित्सा, रंगचिकित्सा आदिलगायत प्राकृतिक चिकित्साका साथमा अरु सहयोगी चिकित्साका रुपमा फिजियोथेरापी, अकुपन्चर, अकुप्रेसर, मोक्जिबुसन, कायरोप्राक्टिक लगायत बिरामीलाई प्राकृतिक चिकित्साबाट फाइदा नहुन्जेल बाथरोग विशेषज्ञको सहयोगमा औषधिको समेत प्रयोग गरी बिरामीमा सहजता ल्याउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *