दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा
दाङ : तुलसीपुर अरनिको मैदानमा फागुन २ देखी हुनलागेको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ । फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आवश्यक पर्ने सबै प्रकारका तयारी लाई तिव्र पार्दै तयारी अन्तिम चरणमा आइपुगेको फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिए । प्रतियोगिता शुरु हुन दुई दिन बाकी रहँदा तयारी अन्तिम चरणमा पुगेको र आइतबार खेल मैदान मर्मत र सरसफाइ गरिएको उनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने ८ टिमको खेल तालिका प्रकाशित लगायतका कामहरू सकिएका छन । पहिलो संस्करण भव्य रुपमा सम्पन्न गरेको फाउन्डेसन दोस्रो संस्करणलाई थप सार्थक बनाउने प्रयास रहेको छ । यतिबेला प्रतियोगिताको प्रचार प्रसार, आर्थिक व्यवस्थापन, आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार लगायतका पक्षमा सशक्त लागि परेको फाउन्डेसनका सचिव केशव चौधरी मिङ्माले जानकारी दिए । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा गत वर्ष देखि स्मृति कप फुटबल हुँदै आएको उनले जानकारी दिए ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । जसमध्ये छिमेकी राष्ट्र भारत को सहारा क्लब लखनउ , जिल्ला भन्दा बाहिरको एक क्लब र जिल्ला भित्रका ६ क्लबको सहभागिता रहने छ । प्रतियोगितामा उपाधि जित्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्ने छ ।
त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशनी गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । साथै Khulduli Entertainment ले खेल को प्रतक्ष्य प्रसारन गर्ने भयको छ
