ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल
1 min read

ईलाका प्रहरी कार्यलय तुलसीपुर मा आय डीएसपी पोखरेल

दाङ  :  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैको प्रभावमा परेर काम नगर्ने बताए ।  भर्खरै  सरुवा भएर इप्रका तुलसीपुरको प्रमुख भएर आएका  डीएसपी पोखरेले बुधबार  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताए । 

अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उनले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका लागि पत्रकारको ठूलो सहयोग आवश्यक पर्ने बताए  ।  उनले शान्ति सुरक्षाका लागि आफूसँग भएको जनशक्ति र स्रोत साधनलाई अधिकतम रुपमा परिचालन गर्ने समेत बताए । 

‘‘ व्यक्तिको मानव अधिकारको कुरा पनि छ । प्रहरीको विवेकको आधारमा छोड्नेलाई थुन्ने र थुन्नेलाई छोड्ने अवस्था आउँन दिँदैन । मान्छेको आफ्नो ह्युमन राइट्सको कुरा पनि छ । सम्झाएर हुने कामलाई किन थुन्ने ? ’’ उनले भने ।   असुरक्षाको महसुस गरेर चारवटा गेटमा चारवटा ताला लगाएर सुत्ने भन्दा पनि झ्याल ढोका खुला राखेर ढुक्कसँग सुत्ने वातावरण सृजनाका लागि जनताको सेवामा खट्ने उनको भनाइ छ । यस्तै उनले कानुन कार्यान्वयन जटिलताका साथ गर्न खोज्दा  कसैको मानव अधिकारलाई खल्तीमा राख्न नहुने बताए । 

 उनले भने,‘ कुनै पनि  केसहरू आयो, भने त्यो मेरो हो रु भनेर ठान्नु पर्छ । थुनामा परे पनि म थुनिए, भनेर ठान्नु पर्छ । पहिला कुरा सुनौँ, अनि थुनामा राख्न मिल्ने भए मात्र राखौँ ।’ प्रहरीले दोष पत्ता लगाउनु पर्ने हुँदा कसैलाई पनि थुनामा राख्ने रहर नहुने भन्दै गल्ति गरेपछि मात्र थुनामा राख्नु पर्ने समेत उनको भनाइ छ । 

त्यसै अवसरमा पत्रकारहरूले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुनुपर्ने भन्दै अनुसन्धानमा बाधा नपुग्ने हरेक खालका सूचनाहरू समयमै उपलब्ध गराउन सुझाव दिएका थिए । कतिपय डिएसपीहरू सूचना नदिदा विवादित समेत भएको स्मरण गराउँदै पत्रकारलाई हरहमेसा सूचना आवश्यक पर्ने भएकाले त्यसतर्फ प्रहरी नेतृत्व सधैँ गम्भिर बन्नुपर्ने बताए । इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लको सरुवा भएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाण्डौबाट डीएसपी पोखरेल तुलसीपुर आएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *