६० किलो सुन तस्करी प्रकरण : सर्बोच्चले १० जनालाई छाड्यो धरौटीम
सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाएका १० प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार प्रतिवादीहरु कुमार ढकाल, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्र कुमार राई र शिवकुमार सर्राफलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
१० जना आरोपितको निवेदनमा अन्तिम सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश भए पनि कति धरौटी भन्ने आदेश प्राप्त नभएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।
सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले २०८० असोज १ गते दावाजिन वाङलाई मुख्य अभियुक्त दाबी गर्दै २९ जनाविरुद्ध पाँच मुद्दा दायर गरेको थियो । सङ्गठित अपराधसहितको दाबी अभियोगपत्रमा गरिएको थियो ।
उनीहरूसँग करिब तीन अर्ब ५० करोड ३० लाख ९१ हजार ९७५ रुपैयाँ बिगो, कैद र जरिवाना हुनुपर्ने माग अभियोगपत्रमा गरिएको थियो । उक्त मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ। उनीहरूको मुद्दामा शुरु सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले अधिकांश प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको उक्त निर्णयविरुद्ध उनीहरू उच्च अदालत पाटन पुगेका थिए ।
पाटनले पनि धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि दुवै अदालतको आदेशलाई चुनौती दिँदै उनीहरू ७३ नम्बरको निवेदन लिएर सर्वोच्च पुगेका थिए । । मुलुकी फौजदारी संहिताको ७३ नम्बर निवेदनले तल्लो अदालतको आदेश चित्त नबुझेमा माथिल्लो तहमा निवेदन दिन पाउने अधिकार प्रदान गरेकोले त्यही सुविधा अन्तर्गत उनीहरू सर्वोच्च पुगेका थिए ।
जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले उनीहरुलाई पुर्प्क्षमा रहने गरी थुनामा राख्न आदेश दिएकोमा सर्बोच्चले उक्त आदेश बदर गरेर धरौटीमा छाड्न आदेश भएको प्राप्त समाचारमा जनाइएको छ।
सुन तस्करी प्रकरणमा दुवै अदालतले थुनामा पठाएपछि त्यस विरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनीहरुको निवेदनमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

