महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए
दाङ : तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा दिनप्रतिदिन रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउनेमात्रै नभएर स्टलबाट सामान खरिद गर्नेको पनि भिडभाड रह्यो । महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू रमाए । महोत्सवमा गायक कुलेन्द्रको प्रस्तुति आउँदा चिसोको कुनै प्रवाह नगरी साँझसम्म रमाए । कुलेन्द्रले ‘जिम्माल बाउकी छोरी’, ‘सालको पात टपरी हुने, नहुने सल्लैको’, ‘उकाली ओराली धाइयो, माया पाइयो अब त के चाहियो’, नजाऊ है सानु पधेँरीमा , आफ्नै छायाँले पनि छल गर्छ भन्छन् अधेरीमा’ लगायतका गीत गाउँदा दर्शक छमछमी नाचेका छन् ।

यस्तै महोत्सवमा तेस्रो दिन चर्चित गायक प्रेम शर्माको पनि प्रस्तुति रहेको थियो । शर्माको ‘माछीले धान खायो’ जस्ता चर्चित गितमा दर्शकहरु झुमेका थिए । गायक शर्मा दाङकै हुनुहुन्छ । यस्तै चर्चित गायिका सीता थापाको पनि प्रस्तुति रहेको थियो । महोत्सवमा दिनप्रतिदिन दर्शकको आर्कषण बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताए । महोत्सवमा प्रत्येक दिन दर्शकको सङ्ख्या बढ्दै गएको र यसले स्थानीय व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको संयोजक केसीले बताए ।
महोत्सवमा सहभागी दर्शकहरूले कलाकारहरूसँग तस्बिर खिच्ने र भिडियो बनाउने ठूलो उत्साह देखिएको थियो । विशेष गरी युवा पुस्ताका दर्शकहरू आफ्नो मनपर्ने कलाकारसँग सेल्फी खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे । सामाजिक सञ्जालमा महोत्सवको माहोल ‘लाइभ’ गर्ने र रिलहरू बनाउनेहरूको सङ्ख्याले गर्दा महोत्सव परिसर निकै सञ्चार मैत्री देखिएको थियो । यस्तै सांस्कृतिक कार्यक्रमका साथै महोत्सवमा राखिएका व्यापारिक स्टलहरू, बाल उद्यान र स्थानीय उत्पादनको प्रदर्शनीमा पनि दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा सञ्चालित महोत्सव पुस ४ गतेदेखि शुरु भएको हो । महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा सोमबार चर्चित गायक श्याम राना लगायतका कलाकार आउँदै छन् । गायक रानासहित अमृत विश्वकर्मा, गायिका विमला खड्का लगायतका कलाकारको प्रस्तुति रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले जानकारी दिए । महोत्सवमा स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ । महोत्सवमा सोनी डान्स ग्रुपको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा कारोबार पनि बढ्दै
तुलसीपुर महोत्सव केवल मनोरञ्जनको केन्द्र मात्र नभई आर्थिक कारोबारको मुख्य थलो समेत बनेको छ । महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा स्टलहरूमा सामान खरिद गर्ने र अवलोकन गर्नेहरूको घुइँचोले स्थानीय व्यापारीहरू निकै उत्साहित देखिएका छन् । महोत्सवमा राखिएका ४०० भन्दा बढी व्यापारिक स्टलहरूमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र स्थानीय हस्तकलाका सामग्रीहरूको बिक्री भइरहेको छ । स्थानीय उत्पादन अल्लोका कपडादेखि स्थानीय कृषि उपजहरूमा दर्शकको चासो बढी देखिएको छ ।
