चीसो मौषममा गायिका समीक्षा अधिकारीलाई दंगालीको न्यानो माया
दाङ, ९ पुस । दाङ दाङको तुलसीपुरमा जारी महोत्सवमा चर्चित गायिका समीक्षा अधिकारीले धमकेदार प्रस्तुति दिएकी हुन । महोत्सवको छैठौँ दिन आज सांगीतिक कार्यक्रम अन्तर्गत बुधबार स्टेज चढेकी अधिकारीले आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारेकि हुन ।

अधिकारीले शिरमा शिरबन्दी, ‘हावा चिसो चिसो’ जस्ता दर्जन बढी चर्चित गीतहरू गाउँदा दर्शकहरूले हुटिङ र तालीका साथ साथ दिएका थिए । चिसो मौसमका बावजुद पनि समीक्षाको प्रस्तुति हेर्न र सुन्नका लागि महोत्सव परिसरमा दर्शकहरूको ठुलो उपस्थिति रहेको थियो । गायिका अधिकारी स्टेजमा आउँदा दर्शकको उत्साहले महोत्सव स्थल निकै गुञ्जायमान बनेको थियो ।
महोत्सवमा बुधबार चर्चित गायिका अधिकारसंगै गायक दिपक वली, सन्दीप सेन्चुरी, देवकुमारी खत्री लगायतका कलाकार बेजोड प्रस्तुति रहेको थियो । स्थानीय व्यापार प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि संचालन भइरहेको महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागीता उल्लेख्यरुपमा हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताएका हुन ।

महोत्सवमा दर्शकको उपस्थिति बढ्दा दैनिकरुपमा कारोबार पनि बढ्दै गएको छ । दर्शकको चाप बढेसँगै महोत्सव भित्रका व्यावसायिक स्टलहरूमा आर्थिक कारोबार समेत तीव्र बनेको महोत्सव मुल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताएका हुन । उनका अनुसार महोत्सवमा सुरुका दिनहरूको तुलनामा अहिले अवलोकनकर्ताको संख्या दोब्बरले बढेपछि स्थानीय उत्पादन, होटल तथा रेस्टुरेन्ट र मनोरञ्जनका स्टलहरूमा चहलपहल निकै बढेको छ ।
पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई टेवा पुर्याउने उद्देश्यले आयोजित महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि महोत्सव शुरु भएको हो । दर्शकको बढ्दो उपस्थितिले आयोजक र व्यापारीहरू दुवै उत्साहित देखिएका छन् ।
