एम्बुलेन्समाथि आक्रमण, चालकमाथि कुटपिट र सवारी तोडफोड
सल्यान जिल्लाको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि सुर्खेतमा अज्ञात समूहले आक्रमण गरेको छ। बिरामी र एक जना कुरुवा बोकेर चौरजहारीबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई गएराति करिब ११ बजेतिर सुर्खेतको भेरीगङ्गा नगरपालिका–रामघाट/राताचौर क्षेत्रको सडकमा रोकेर आक्रमण गरिएको हो।
लठ्ठी र ढुङ्गा लिएर आएका अज्ञात व्यक्तिहरूले एम्बुलेन्स चालक वसन्त शर्मामाथि हातपात गर्नुका साथै एम्बुलेन्समा समेत तोडफोड गरेका छन्। घटनापछि चालक शर्माले तत्काल प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए।

हाल बिरामीलाई नेपालगञ्ज अस्पतालमा पुर्याइसकिएको छ भने चालक शर्मा थप कानुनी प्रक्रियाका लागि सुर्खेततर्फ गएको जानकारी प्राप्त भएको छ।
घटनाबारे कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटालाई जानकारी गराइएको छ। सापकोटाले सुर्खेतका प्रहरी प्रमुखलाई तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेको जनाइएको छ।
बिरामी बोकेको एम्बुलेन्समाथि गरिएको यस्तो आक्रमणप्रति सर्वत्र विरोध भइरहेको छ। सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही तथा शान्ति सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

