बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले पोषणयुक्त खाद्यान्न वितरण
तुलसीपुर, दाङ।
बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सेवा प्रतिष्ठान नेपालले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा पोषणयुक्त खाद्यान्न वितरण गरेको छ।

संस्थाले तुलसीपुर उपमहानगरपालिका–१०, १३, १४ र १५ का कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी २७९ जनालाई पोषणयुक्त खाद्यान्न वितरण गरेको हो।
सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१० का वडाध्यक्ष यमराज के.सी.को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पोषणसम्बन्धी सचेतना अभिवृद्धि तथा स्वास्थ्य सुधारका विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष के.सी.ले प्रविधिको विकाससँगै विभिन्न स्वास्थ्य समस्या पनि बढ्दै गएको उल्लेख गर्दै बालबालिकाको समुचित वृद्धि–विकासका लागि व्यवस्थित र सन्तुलित खानपान अपरिहार्य रहेको बताए।
पोषणयुक्त खानेकुराप्रति बेवास्ता गर्दा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास उमेरअनुसार हुन नसक्ने उनको भनाइ थियो।
घरमै उपलब्ध खाद्य सामग्रीलाई सन्तुलित रूपमा प्रयोग गर्न सके बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने उनले बताए।

सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल के.सी.ले स्वस्थ आमा र स्वस्थ बालबालिकाले नै स्वस्थ समाज निर्माण गर्ने भएकाले आमा तथा बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
उनले सुदूरपश्चिम र कर्णाली प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका बालबालिकाको पोषण अवस्था अझ चुनौतीपूर्ण रहेको जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले स्वास्थ्य क्षेत्रको विकासबिना देशको समग्र विकास सम्भव नहुने बताए।
आमाहरूले सन्तुलित खानपानमा ध्यान नदिँदा बालबालिकाको वृद्धि तथा विकास प्रभावित हुने गरेको उल्लेख गर्दै उनले नेपालमा करिब ४१ प्रतिशत महिलामा रक्तअल्पता (एनिमिया) को समस्या रहेको जानकारी दिए।
घरभित्रको भान्सालाई पोषणमैत्री बनाउन सके बालबालिकामा देखिने धेरै स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।
टरिगाउँ स्वास्थ्य चौकीकी इन्चार्ज बिना के.सी.ले स्वास्थ्य चौकीबाट नियमित रूपमा पोषणसम्बन्धी परामर्श सेवा प्रदान हुँदै आएको बताउँदै बालबालिकालाई सर्वोत्तम लिटोलगायत पोषणयुक्त परिकार खुवाउन आग्रह गरिन्।
कार्यक्रममा टरिगाउँ स्वास्थ्य चौकीकी पोषण फोकल पर्सन उषा कडेलले कुपोषित बालबालिकाका अभिभावकलाई पोषण व्यवस्थापन, उचित खानपान, बालबालिकालाई के खुवाउने र कसरी खुवाउने भन्ने विषयमा परामर्श प्रदान गरेकी थिइन्।
उनले कुपोषण न्यूनीकरण, पोषणसम्बन्धी जनचेतना अभिवृद्धि तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उपायबारे समेत जानकारी गराएकी थिइन्।
कार्यक्रममा सहभागीहरूलाई पोषणको महत्वबारे सचेत गराउँदै कुपोषण न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।
Compose
Write to Prakash Kcc
