
गायिका एलिना चौहानले माफी नमागे साउण्ड सिष्टम नदिने व्यवसायीको घोषणा
पर्वत : गायिका एलिना चौहानले गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ४२ औँ मगर दिवसको अवसरमा पुन क्लबको आयोजनामा गत फागुन १५ गतेदेखि जारी तेस्रो राष्ट्रिय मगर महोत्सवमा चढेपछि ध्वनिको विषयलाई लिएर ध्वनिका प्राविधिकहरुसँग केही भनाभन भयो।
गीत गाउने क्रममा एलिनाले ‘साउण्ड’ मिलाइदिन आग्रह गरेकी थिइन्। एलिनाले ‘साउण्ड’ मा समस्या भएको बताएपछि त्यसको प्रत्युत्तरमा प्राविधिकले ‘भोकल’ लाई क्लियर गरेर आफूहरूसँग ‘लेबल’ माग्न भने। फेरि एलिनाले ‘पहिला तपाईंको त्यो बोल्ने ढङ्ग सुधार गर्नु है बुझ्नुभयो? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटि उफ्रेर हेर्नु त। तपाईंले मलाई सिकाउनु पर्दैन। बुझ्नु भयो। नाच्न जान्दैन आँगन टेढो भनेको यही हो क्या। मिलाउन आउँदैन। लाज लाग्दैन यस्ता बोल्नलाई।’ भन्दै उत्तर फर्काइन्।
स्टेजको अगाडि राखिएको प्राविधिक कक्षमा रहेका प्राविधिकले ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौँ।’ भन्दै एलिनालाई जवाफ फर्काए।उनीहरूको बीचको यो ‘भिडिओ क्लिप’ सामाजिक सञ्जालमा भाइरल नै बन्यो। साङ्गीतिक प्रस्तुतिका लागि पहिलोपटक पर्वतमा आएकी एलिना विवादमा तानिइन्। सामाजिक सञ्जालमा विचार व्यक्त गर्नेहरू कोहीले एलिनालाई गाली गरेका छन् त कोहीले प्राविधिकलाई।
पर्वतमा भएको यही विवादको झिल्को झनै सल्किएको छ। ‘साउण्ड सिष्टम’ को व्यवस्थापन गर्दै आएका ६ जना व्यवसायीहरूले एलिनाले प्राविधिकहरूमाथि अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै उनी सहभागी हुने कार्यक्रममा ‘साउण्ड सिष्टम’ नै उपलब्ध नगराउने घोषणा गरेका छन्। जिके साउण्ड सिष्टमका गमबहादुर क्षेत्री, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिष्टमका मञ्जित जैसवाल, जोजिजु म्युजिक एण्ड साउण्ड सिष्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिष्टमका एविज गुरुङले संयुक्त रूपमा विज्ञप्ति नै निकालेका छन्।
जसमा एलिनाले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म उनी सहभागी हुने कुनै पनि कार्यक्रममा ‘साउण्ड सिष्टम’ उपलब्ध नगराउने घोषणा गरिएको छ। उनीहरूले यो प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यबद्धता जनाउन पनि अपिल गरेका छन्। महोत्सवमा गायिका चौहानले गरेको व्यवहार अमर्यादित र अभद्र भएको भन्दै उनीहरूले ध्यानाकर्षणसहित खेद प्रकट गरेका छन्।