तुलसीपुर महोत्सवमा चर्चित गायक भट्टराईको प्रस्तुतिमा दर्शक झुमे
दाङ : तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् रौनक पूर्ण बनायो । दोस्रो तुलसीपुर महोत्सव विभिन्न साँगीतिक, सांस्कृतिक तथा व्यापारिक प्रदर्शनीहरू सहित जारी छ ।

आज चौथो दिन चर्चित गायिका इब्सन सन्ज्याल , बिमला घर्तीको पनि प्रस्तुति रहेको थियो । भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने सांस्कृतिक संयोजक सन्तोष खड्काले बताए । ‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’

उनले भने –‘दिनप्रतिदिन दर्शकको सङ्ख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् । मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्श का अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।‘हामीहरूले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उनले भने – ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरू पनि उत्साहित हुनुहुन्छ ।’
