स्वतन्त्र उम्मेदवार भरत दर्नालसहित युवा नेता लिला विक एमाले प्रवेश
दाङ, २७ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका भरत दर्नाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । दर्नालसँगै नेकपा निकट युवा नेता लिला विक पनि एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दर्नाल र विकलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय एमाले जनताको भरोसाको पार्टी बन्दै गएको उल्लेख गर्दै विभिन्न राजनीतिक धारमा रहेका व्यक्तिहरू एमालेमा आकर्षित भइरहेको बताएका हुन ।
लिला विक यसअघि एमालेमा सक्रिय रहे पनि केही समयअघि पार्टी परित्याग गरी तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछिल्लो राजनीतिक परिस्थितिलाई मूल्यांकन गर्दै उनी पुनः एमालेमा फर्किएको जनाइएको छ ।
दाङ–३ को राजनीतिक समीकरणमा दर्नाल र विकको एमाले प्रवेशले आगामी दिनमा थप तरंग ल्याउने अनुमान गरिएको छ ।
