नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को अधिवेशनमा झडप: पूर्वसांसदसहित तीन घाइते, नोबेल हस्पिटलमा उपचार हुँदै
विराटनगर
नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा आयोजना गरिएको अधिवेशनका क्रममा कार्यकर्ताबीच झडप भएको छ। अधिवेशनस्थलमा मनोनयन दर्ता तथा प्रतिनिधि विवादलाई लिएर भएको विवाद उग्र बनेपछि झडपको स्थिति सिर्जना भएको हो।

झडपका क्रममा पूर्व प्रदेश सांसद एवं कार्यवाहक क्षेत्रीय सभापति चुम नारायण तबदार, युवा नेता जेनजी समुन्द्र पोखरेल र पार्टी नेता चेतराज रेग्मी घाइते हुनुभएको छ। घाइतेहरूको विराटनगरस्थित नोबेल मेडिकल हस्पिटलमा उपचार भइरहेको छ।
अधिवेशनस्थलमा कुर्सी तोडफोड हुनुका साथै चुनावी प्रक्रिया रोकिएपछि अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। केन्द्रीय सह-महामन्त्री डा. डिला संग्रौलालगायतका नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आन्तरिक गुटगत विवादका कारण झडप भएको जनाइएको छ। घटनावारे थप अनुसन्धान भइरहेको र रोकिएको अधिवेशन सञ्चालनबारे शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ।
