तुलसीपुरमा बजार अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न निर्देशन
तुलसीपुर उपमहानगरपालिकाको बजार अनुगमन निर्देशिका, २०७५ को परिच्छेद–३ बमोजिम उपभोक्ताको हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ।

अनुगमनका क्रममा व्यवसायको मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, नापतौल प्रमाण, म्याद नाघेका खाद्य सामग्री, PAN/VAT दर्ता, खरिद बिल तथा खाद्य वस्तुको गुणस्तर र मूल्य लगायतका विषयमा निरीक्षण गरिएको थियो। विशेषगरी मासु, मिठाई तथा अन्य दैनिक उपभोग्य खाद्य सामग्रीको गुणस्तर र मूल्यमा समेत अनुगमन टोलीले ध्यान दिएको थियो।
अनुगमनका क्रममा देखिएका कमजोरी तथा त्रुटिहरू तत्काल सुधार गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ। साथै, प्रचलित कानुन तथा बजार अनुगमन निर्देशिकामा तोकिएका मापदण्ड अनिवार्य रूपमा पालना गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ। निर्देशिका तथा प्रचलित कानुनको उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने अनुगमन टोलीले जनाएको छ।

उपभोक्ता हित संरक्षण शाखाका राजु श्रेष्ठको संयोजकत्वमा खटिएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाई, इलाका प्रशासन कार्यालयका हुम न्यौपाने, तुलसीपुर उपमहानगरपालिका अधिकृत छैटौँ रोहितप्रसाद भण्डारी, वरिष्ठ प्रशासक एवं सहायक बजार व्यवस्थापक खेमकान्त पाण्डे, न.प्रा.ना.नी. ऋषिराज पछाई, अधिकृत छैटौँ कृषि शाखाका शंकरप्रसाद न्यौपाने, सूचना अधिकारी यज्ञबहादुर केसी, वडा नं. ६ का जनप्रतिनिधि यमबहादुर केसी लगायतको सहभागिता रहेको थियो। अनुगमनमा सञ्चारकर्मी नवीन ओली (ओरेन्ज खबर) को समेत प्रत्यक्ष सहभागिता रहेको थियो।
आउँदै गरेको दशैं तथा तिहारको अवसरमा उपमहानगरपालिकाले सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई अखाद्य, म्याद गुज्रिएका तथा मिसावटयुक्त खाद्य वस्तु बिक्री–वितरण नगर्न अनुरोध गरेको छ।
त्यसैगरी, उपभोक्ताहरूलाई पनि दैनिक उपभोग्य सामग्री खरिद गर्दा गुणस्तर, म्याद समाप्ति मिति, लेबल, मूल्य तथा उत्पादनसम्बन्धी विवरण राम्रोसँग जाँच गरी मात्र खरिद गर्न आग्रह गरिएको छ।

उपमहानगरपालिकाले स्वस्थ जीवनका लागि स्वच्छ, सफा तथा गुणस्तरीय खाद्य वस्तुको प्रयोग गर्न सबैमा अनुरोध गर्दै आगामी दशैं तथा तिहारको अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेको छ।
