दाउन्नेमा यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु, १४ घाइते
1 min read

दाउन्नेमा यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु, १४ घाइते

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित बिनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने एस मोडमा आज बिहानै एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौंतर्फ जादै  गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ४:०० बजे अनियन्त्रित भई सडकबाट नालामा पल्टिएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगी बसमा च्यापिएका तथा घाइते यात्रुहरूको उद्धारमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि नजिकैको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अस्पताल पुर्याइएकामध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीलाई बिहान ५:२६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसपछि उद्धार गरिएका थप चार जना तथा अन्य एक गरी कुल ६ जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ। मृतक अन्य व्यक्तिहरूको नाम तथा ठेगाना खुल्न बाँकी रहेको र पहिचानको प्रयास भइरहेको छ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरू गोरखा, अछाम, बर्दिया, बाजुरा, ललितपुर, बाँके र सल्यान जिल्लाका रहेका छन्। अधिकांश घाइतेहरूको अवस्था भने मध्यम तथा सामान्य रहेको र उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।
बस दुर्घटनाको प्रष्ट कारण अहिलेसम्म नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *