दसैँको उमङ्गमा बज्रपात: घोराहीमा मोटरसाइकल दुर्घटनामा टोपबहादुरको निधन, गाउँभरि छायो सन्नाटा
घोराही, दाङ । घर-घरमा दसैँको खुसीयाली, आफन्त भेटघाटका योजना र उमङ्ग छाइरहेको थियो। तर दाङको घोराहीका लागि बिहीबारको साँझ एकाएक शोक र सन्नाटामा बदलियो। दसैँको यही रौनकमै कसैको सिन्दुर पुछिएला र कसैको आँगनमा कहिल्यै नसकिने रोदन छाउला भनेर कसैले सोचेका सम्म थिएनन्।
घोराहीस्थित बुद्ध अस्पताल नजिकै बिहीबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा भएको भयानक दुर्घटनामा घोराही उपमहानगरपालिका–२ निवासी ४० वर्षीय टोपबहादुर ओलीले अकालमै ज्यान गुमाउनुभएको छ।
घर फर्किने बाटोमै खोसियो जीवनको सास बी.पी. चोकबाट ट्राफिक चोकतर्फ जाँदै गरेको ओली सवार (नम्बर नखुलेको) मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ६ प ६६७५ नम्बरको मोटरसाइकलले पछाडिबाट तीव्र गतिमा ठक्कर दिएको थियो।

दुर्घटना यति भयानक थियो कि ठक्करपछि ओली सवार मोटरसाइकलमा सल्केको आगोले हेर्दाहेर्दै गाडी पूर्ण रूपमा खरानी बन्यो। गम्भीर घाइते हुनुभएका टोपबहादुरलाई उपचारका लागि हतार-हतार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि साँझ ६:४० बजे चिकित्सकले मृत घोषणा गरिदिए। चाडपर्वमा घर फर्किने र परिवारसँग खुसी साट्ने उहाँको सपना अस्पतालको चिसो शय्यामै सधैँका लागि अस्ताउन पुग्यो।
मापसे र लापरबाहीले निम्त्याएको विनाश प्रहरीका अनुसार ठक्कर दिने रा ६ प ६६७५ नम्बरको मोटरसाइकल चालक बङ्गलाचुली गाउँपालिका–४ का २३ वर्षीय सुनिल खत्रीले अत्यधिक मादक पदार्थ सेवान (मापसे) गरेका थिए। मापसेको मात्तिएका चालकको अनियन्त्रित गतिकै कारण यो अकल्पनीय त्रासदी घटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनामा चालक सुनिल खत्री आफैँ पनि गम्भीर घाइते भएका छन्। उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय रामबहादुर डाँगीको अनुहारमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ। मोटरसाइकलमै सवार अन्य एक जना (अन्दाजी १९-२० वर्षका मोहन डाँगी) भने दुर्घटनापछि फरार रहेकाले प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।
घटनालगत्तै वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराज बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको छ।
अधुरै रह्यो दसैँको खुसी दसैँको मुखैमा परिवारको मुली मान्छेलाई यसरी अकालमै गुमाउनुपर्दा टोपबहादुरको परिवारमा परेको बज्रपात शब्दमा बयान गर्न सकिँदैन। चाडबाडको बेला मापसे गरेर चलाइने सवारी साधन र क्षणभरको लापरबाहीले कसरी अर्काको भरिपूर्ण संसार उजाडिदिन्छ भन्ने यो एउटा हृदयविदारक उदाहरण बनेको छ।
