तुलसीपुरमा चाडपर्वलक्षित बजार अनुगमन तीव्र: म्याद गुज्रिएका सामग्री जफत, होटेललाई सरसफाइको निर्देशन
तुलसीपुर (दाङ), असोज १४ गते।
आगामी दशैँ तथा तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बजार अनुगमनलाई तीव्र बनाएको छ। उपमहानगरपालिकाले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि तुलसीपुर बसपार्क क्षेत्रमा सञ्चालित होटेल, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा संयुक्त टोलीमार्फत स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा केही किराना पसलहरूमा म्याद गुज्रिएका सामग्री भेटिएपछि टोलीले ती सामानहरू जफत गरी नष्ट गरेको छ। त्यसैगरी, केही होटेलहरूमा चरम फोहोर फेला परेकाले सरसफाइमा विशेष ध्यान दिन र स्वच्छ वातावरण कायम राख्न कडा निर्देशन दिइएको छ।
तुलसीपुर उपमहानगरपालिकाको ‘बजार अनुगमन निर्देशिका, २०७५’ को परिच्छेद–३ बमोजिम उपभोक्ता हित संरक्षण तथा बजारलाई अनुशासित बनाउने उद्देश्यले अनुगमन गरिएको हो। टोलीले व्यवसायको मूल्यसूची, दर्ता तथा नवीकरण, नापतौल प्रमाण, पान/भ्याट (PAN/VAT) दर्ता, खरिद बिल, खाद्य वस्तुको गुणस्तर तथा मूल्यको सुक्ष्म निरीक्षण गरेको थियो। विशेष गरी दशैँ-तिहारमा बढी खपत हुने मासु, मिठाई तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा टोलीले विशेष निगरानी राखेको छ।
अनुगमनका क्रममा भेटिएका कमजोरी तत्काल सुधार गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ। तोकिएका मापदण्ड र कानुनको उल्लङ्घन गरिएमा प्रचलित ऐन-नियम अनुसार कडा कारबाही गरिने अनुगमन टोलीले चेतावनी दिएको छ।

उपभोक्ता हित संरक्षण शाखाका राजु श्रेष्ठको संयोजकत्वमा खटिएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बराल, खाद्य निरीक्षक सुदर्शन गोसाई, इलाका प्रशासन कार्यालयका हुम न्यौपाने, उपमहानगरपालिकाका अधिकृत छैटौँ रोहितप्रसाद भण्डारी, वरिष्ठ प्रशासक एवं सहायक बजार व्यवस्थापक खेमकान्त पाण्डे, न.प्रा.ना.नी. ऋषिराज पछाई, कृषि शाखा अधिकृत छैटौँ शंकरप्रसाद न्यौपाने, सूचना अधिकारी यज्ञबहादुर केसी, वडा नं. ६ का जनप्रतिनिधि यमबहादुर केसी तथा सञ्चारकर्मी नवीन ओली (ओरेन्ज खबर) लगायतको प्रत्यक्ष सहभागिता रहेको थियो।
चाडपर्वको अवसरमा अखाद्य, म्याद गुज्रिएका र मिसावटयुक्त वस्तु बिक्री-वितरण नगर्न उद्योगी-व्यवसायीलाई उपमहानगरपालिकाले आग्रह गरेको छ। साथै, उपभोक्ताहरूलाई पनि सामान खरिद गर्दा मूल्य, गुणस्तर, उपभोग्य मिति (Expiry Date) र लेबल अनिवार्य हेरेर मात्र खरिद गर्न सचेत गराइएको छ।
उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीमा दशैँ तथा तिहारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको मात्र प्रयोग गर्न अपिल गरेको छ।

