शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा भारतबाट पक्राउ
काठमाडौं, १२ असार ।
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका हुन् ।
उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर सोमबार नेपाल ल्याइएको सीआईबीले जनाएको छ ।
२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए ।
शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको बताइएको छ । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।
बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
