करेन्ट लगेर एकै परिवारका तीन जनाको मृत्यु
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ तल्लो मसुरिया चोकमा आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र उनीहरूका ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा विद्युतको हाइटेन्सन लाइनको तार चुँडिएर शरीरमा खसेपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार हजुर आमा र नातिको घटनास्थलमै मृत्यु भएको थियो। घाइते गोरखबहादुरलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक सिंहले बताए।
दाङमा शनिबार केही तीव्र बेगको हावा चलेको भए पनि त्यसको असरले भन्दा पनि प्राविधिक त्रुटिले हाइटेन्सन लाइनको तार एकाएक चुँडिन पुगी मानवीय क्षति भएको घटनास्थल पुगेका विद्युतका एक कर्मचारीले बताए।
करेन्ट लागेर मृत्यु भएकामध्ये दुई जनाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ भने गोरखबहादुरको शव बुटवलबाट दाङतर्फ ल्याउन थालिएको छ।
