
८४ दिन हिरासतमा बसेर धरौटीमा थुनामुक्त भए रवि लामिछाने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका हुन् । कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने बताएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ । उनी काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्।

रविलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो । बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।
लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोप समेत छ । उक्त सहकारीमा प्रतिवादी रहेका दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ। लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि उपस्थित हुनुपर्नेछ ।