
कर्णाली विकास बैङ्कका निक्षेपकर्ताको रकम क्रमश फिर्ता गरिने
दाङ : समस्याग्रस्त घोषणासँगै कर्णाली डेभलपमेन्ट बैङ्कको व्यवस्थापनमा राष्ट्र बैङ्कबाट खटिएको टोलीले तुलसीपुरमा शुक्रबार अन्तरक्रिया गरेको छ । निक्षेपकर्ता, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार लगायतको सहभागितामा कर्णाली डेभलपमेन्ट बैङ्क शाखा कार्यालय तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । बैङ्क व्यवस्थापनको नेतृत्वका लागि राष्ट्र बैङ्कले बैक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाह रहेको तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा उक्त बैकको व्यवस्थापनको हालको जिम्मेवारी प्राप्त गरेका समुहका सदस्य एवम् राष्ट्र बैकको वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्माले निक्षेपकर्ताको रकम सुरक्षित रहेको बताए । समस्याग्रस्त अवस्थामा रहेको राष्ट्र बैङ्कले घोषणा गरिसकेकोले निक्षेपकर्ताको रकमलाई क्रमश फिर्ता गरिने समेत विश्वकर्माले विश्वास दिलाए । हालको अवस्थाको बारेमा राष्ट्र बैङ्क र नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेकोले अपचलनमा संलग्नहरू माथि कारबाही हुने जानकारी उनले बताए । यो अवस्थामा यस बैङ्कका गतिविधिमा सबै निक्षेपकर्ताहरूको समेत सहयोगको आवश्यकता रहेको उनले जोड दिए । उनले भने,‘ आत्तिहाल्नु पर्ने छैन, त्यसैले बैङ्कमा जम्मा गरेको रकम फिर्ता लिन भिडभाड गरिहाल्नु पर्दैन, मेरो आग्रह छ ।’ अहिले कर्णाली डेभलपमेन्ट बैकको व्यवस्थापन नियन्त्रणमा लिई आन्तरिक लेखा परीक्षणको काम भइरहेको समुहका सदस्य विश्वकर्माले जानकारी दिए ।व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गरिरहेको उनले बताए ।
संस्थाको ‘ड्यु डेलिजेन्स अडिट’ सम्पन्न गराउन आवश्यक कार्य भइरहेको, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्राप्त भएको समेत अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको कर्णाली विकास बैक शाखा कार्यालयका प्रबन्धक सुमन बस्नेतले जानकारी दिए । नेपालगन्जमा रहेको यस डेभलपमेन्ट बैङ्कमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैङ्कले कारबाही गरेको छ । ‘संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो खतिवडाको नेतृत्वको ३ सदस्यीय टोलीले २०८१ पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको छ । राष्ट्र बैङ्कले उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ।
यस विकास बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ । यो बैङ्कमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको छ । यस बैङ्कले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको छैन भने निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । कर्णाली डेभलपमेन्ट बैङ्कको करिव १ अर्व २६ करोड रुपैया अपचलन गरेको अभियोगमा उक्त बैकका सञ्चालक समितिका पूर्व अध्यक्ष राजेन्द्र बीर राई, पूर्व सिईओ दिनेशकुमार रावत र सिईओ निरज बिक्रम शाह माथि राष्ट्र बैक र नेपाल प्रहरीको सीआईबीले अनुसन्धान शुरु गरेको छ । दाङ,बाँके र बर्दिया जिल्लामा गरि कर्णाली डेभलपमेन्ट बैङ्कको १९ वटा शाखा कार्यालय रहेका छन् । ती शाखा कार्यालयबाट भने हाल सम्म रकम अपचलन भएको जानकारी नभएको राष्ट्र बैकले जानकारी दिँदै आएको छ । तर, पनि शाखा कार्यालयको आन्तरिक लेखा परिक्षण प्रतिबेदनबाट थप स्पष्ट हुने बताईएको छ ।