तुलसीपुरमा डिजिटल मिडियाकर्मी संघ गठन : साझा हितका लागि सामुहिक एकताको संकल्प
1 min read

तुलसीपुरमा डिजिटल मिडियाकर्मी संघ गठन : साझा हितका लागि सामुहिक एकताको संकल्प

दाङ : तुलसीपुर लगायत आसपासका क्षेत्रमा विभिन्न सन्चार माध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई सङ्गठित गर्दै पेशागत अधिकार, मर्यादा र क्षमताको विकास गर्ने उद्देश्यका साथ डिजिटल मिडियाकर्मी सङ्घको कार्यसमिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले सर्वसम्मत रूपमा नवीन वलीलाई सङ्घको अध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा जित सागर जिएम, सचिवमा झग्गु भण्डारी, सह–सचिवमा रूपा थापा र कोषाध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् ।

सङ्घको सदस्यहरूमा ठाकुर देवकोटा, चेतन ओली, उदिराम चौधरी, एच.आर मगर, सागर सुवेदी रहेका छन् । त्यसैगरी सङ्घका सल्लाहकारहरूमा दीपक बोहरा, विकास डाँगी, तिलकराज ओली र बसन्त पौडेललाई मनोनित गरिएको छ । डिजिटल माध्यमको बढ्दो प्रभावसँगै सूचनाको छिटो, सत्य र जिम्मेवार प्रवाहका लागि पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको सन्दर्भमा सञ्चारकर्मीहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने लक्ष्यसहित सङ्घ गठन गरिएको सङ्घले बताएको छ ।

सङ्घले स्थानीय तहमा क्रियाशील पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा, तालिम तथा क्षमता अभिवृद्धि, साथै पत्रकारिताको मर्यादा कायम राख्न पहल गर्ने अपेक्षा गरिएको छ । सङ्घले डिजिटल माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूका समस्या पहिचान गर्दै समाधानका लागि सरोकारवाला निकायसँग सहकार्य गर्ने, पत्रकारहरूबीच आपसी सद्भाव, सहकार्य र एकता मजबुत बनाउने तथा निष्पक्ष, जिम्मेवार र तथ्यपरक पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

सङ्घका नवनिर्वाचित अध्यक्ष वलीले आफूलाई विश्वास गरी गरिमामय जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सङ्घलाई अझ सक्रिय, समावेशी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सङ्घका गतिविधिमा निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *